झापा । चिकित्सा क्षेत्र बेथिति र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग सिफारिस गर्न माग गर्दै तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत् डा. गोविन्द केसीको स्वास्थ्यस्थिति बिग्रेको छ ।
डाक्टर केसीलाई सास फेर्न अप्ठेरो हुने, मुटुको धड्कन बढ्ने, पिसाब कम हुनेलगायत समस्या देखिएका छन्। केसीको स्वास्थ्य जटिलतालाई मध्यनजर गर्दै मंगलबार बिहानदेखि स्लाइन दिन थालिएको छ।
शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरको सक्रियतामा केसीको स्वास्थ्य परीक्षण गरी स्लाइन दिन थालिएको हो। ‘हामीले स्वास्थ्य परीक्षण गर्दा त्यस्ता समस्या देखिएका छन्,’ रेजिडेन्ट डाक्टर सुमन आचार्यले भने, ‘उहाँलाई जोखिमबाट जोगाउन स्लाइन दिन थालिएको हो।’
आचार्यका अनुसार केसीको स्वास्थ्यस्थिति बिग्रिएपछि अस्पतालका नर्सलाई रेखदेखका लागि अनुरोध गरिएको थियो । तर, उनीहरूले अस्पताल प्रशासनले सहयोग नगर्नू भनेको छ भन्दै इन्कार गरेपछि रेजिडेन्ट डाक्टर केसीको स्वास्थ्य परीक्षण गर्न गएका थिए।