ईटाभट्टा । मेचीनगर नगरपालिका सामाजिक परिचालन समन्वय समितिको आयोजनामा दुई दिवशिय क्षमता विकास सम्बन्धि तालिम मङ्गलबार सम्पन्न भएको छ ।
तालिममा सामाजिक परिचालन क्षमता विकास,रुपान्तरणीय सामाजिक परिचालन,ग्रामिण शिघ्र लेखाजोखा प्रणाली,राष्ट्रिय अभियान, उपभोक्ता समिति,प्लाष्टिक झोला मुक्त अभियान,खुल्ला दिशामुक्त अभियान,नागरिक सचेतना केन्द्र तथा वडा नागरिक मञ्चबीचको सम्बन्ध र भिन्नता लगायतका विविध विषयमा प्रशिक्षण दिईएको थियो ।
सामाजिक परिचालन समन्वय समितिका पदाधिकारी तथा नगरका सम्पूर्ण वडाहरुमा गठित नागरिक सचेतना केन्द्रका सामाजिक परिचालिकाहरुको क्षमता अभिवृद्धि एवं नेतृत्व विकास गराउने उद्धेश्यले तालमिको आयोजना गरिएको हो ।
नगरपालिकाका सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्ती,खाद्य विश्लेषक दिपेन्द्र कार्की,लेखा अधिकृत राजनकुमार भेटवाल,कर अधिकृत चक्रपाणी खनाल र कार्यक्रम संयोजक सोमराज ढकालले तालिमको सहजिकरण गरेका थिए ।
कार्यालयका कार्यकारी अधिकृत पशुपति खतिवडाको सभापतित्वमाा सम्पन्न तालिममा सामाजिक परिचालन समन्वय समितिका पदाधिकारी र नागरिक सचेतना केन्द्रका परिचालिका गरी २५ जनाको सहभागिता रहेको थियो ।तालिम सोमबारदेखि सुरु भएको थियो ।