आर्थिक रुपमा पिछडिएको कर्णाली प्रदेशमा लगानी गर्न निजी क्षेत्र इच्छुक देखिएको छ । व्यवसायीहरुले पूर्वाधारको विकास र लगानीमैत्री वातावरण सिर्जना भए ठूलो उद्योगमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धि सम्बन्धी छलफलमा सहभागी हुन सुर्खेत पुग्नु भएकी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आफूहरू कर्णालीको समृद्धिका लागि ठूला आयोजना र उद्योगमा लगानी गर्न तयार रहेको बताउनु भयो ।
अध्यक्ष राणाले लगानीको वातावरण बनाउने जिम्मेवारी भने सरकारको भएको धारणा व्यक्त गर्नु भयो । यस्तै महासंघका उपाध्यक्ष किशोर प्रधानले आफू पनि कर्णालीमा लगानी गर्न इच्छुक रहेको स्पष्ट पार्नु भयो ।
कुनै पनि ठूलो उद्योग स्थापना हुन नसकेको कर्णाली प्रदेशमा औद्योगिक विकासका लागि प्रशस्त सम्भावना रहेकाले पर्यटन, जलविद्युत् र जडिबुटीमा लगानीकर्ताहरुको ध्यान गएको हो ।