काठमाडौँ । विभिन्न धर्मावलम्बीले गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् ।
चारुमती बौद्ध विहारले आयोजना गरेको कार्यक्रममा हिन्दू, बौद्ध, शिख, किरात धर्मावलम्बीका साथै मृतकका आफन्त उक्त स्थानमा गरिएको श्रद्धाञ्जलिसभामा सहभागी भएका छन् । वटुकले वैदिक मन्त्रोचारण गरेपछि औपचारिक रुपमा कार्यक्रमको शुरुवात गरिएको थियो ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समितिले काम गरिरहेको बताउँदै प्रतिवेदन आएपछि हवाई सुरक्षालाई विशेष सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । दुर्घटनाका २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशबाट चिकित्सा शास्त्रसम्बन्धी अध्ययन सकेर फर्केका १३ विद्यार्थीले सोही दुर्घटनामा परी ज्यान गुमाएका थिए ।