
काठमाण्डाैं । अवदेखि बाटोमा फोहर गर्नेलाई सरकारले कार्वाही गर्ने भएको छ ।
चक्रपथ सरसफाईको ५० औँ हप्ता पुगेको अवसरमा आयोजीत कार्यक्रममा सरकारका मन्त्रीहरुले बाटोमा फोहर गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएका हुन् । सरसफाई अभियानमा सहभागी हुँदै गृहमन्त्री राम बहादुर थापाले फोहर गर्नु अपराध भएकोले अपराधिलाई अनिवार्य सजाय दिईने बताउनुभयो ।
बाटोमा फोहर फाल्ने र दिशापिशाव गर्नेलाई जनताले सामाजिक बहिस्कार गर्न आह्वान गर्दै गृहमन्त्री थापाले र उनीहरुलाई गिरफ्तार गरेर दण्डित गर्न प्रहरीलाई निर्देशन दिनुभयो ।
बन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले वातावरण सरसफाईका लागि सबैपक्ष जिम्मेवार भएर मानविय चेतनाले काम गर्नुपर्ने बताउनुभयो । तर मानविय चेतनाले सबै काम नगरेकै कारण कानुनी कार्वाही अनिवार्य भएको भन्दै उहाँले जुन समूह व्यक्तिले वातावरण प्रदुषण गर्छ त्यसलाई कानुनको दायरामा ल्याउनु जरुरी भएको बताउनुभयो ।
सरसफाईको क्रममा भेटिएका नेपाल टेलिकमका प्रयोग भईसकेका रीचार्ज कार्ड नेपाल टेलिकमलाई र खैनी सुर्तिका प्याकेट उद्योगीलाई हस्तान्तरण गर्नुका साथै सरसफाई अभियानमा सँलग्न व्यक्ति तथा संघ संस्थालाई सम्मान गरीएको थियो ।
विभिन्न संघसंस्थाको अयोजनामा ५० हप्तादेखि अभियानकै रुपमा चक्रपथ वरीपरी सरसफाई अभियान सञ्चालन गरीँदै आएको छ ।