काठमाण्डौं । आज ११ जुलाई अर्थात विश्व जनसंख्या दिवस , नेपालमा विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईदैछ । विश्वभर पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आह्वानमा सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ को दिन जनसंख्या दिवस मनाउने गरिएको छ । दिवसको यो वर्षको नारा ‘सुखद भविष्यका लागि किशोरीमा लगानी’ भन्ने तय गरिएको छ ।
दिवसको अवसरमा जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले देशको आर्थिक अवस्था सबल बनाएर आम नागरिकको अवस्था सुधारका लागि पहल गरिने बताउनुभएको छ । दिवसको अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयले पनि शुभकामना दिएको छ ।
यस्तै दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्दै जनसंख्या व्यवस्थापन गरी किशोरी तथा युवामा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताएका छन् ।
यस्तै संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले शुभकामना सन्देश दिँदै किशोरीमा लगानी बढाउन तथा उनीहरुलाई साथ दिन सरकार, व्यवसायी तथा नागरिक समाजसँग आग्रह गुरेका छन् ।
आर्थिक लाभ र समाजिक अग्रगमनको अधिकार सबैलाई रहेकोले त्यसका लागि एकीकृत प्रयास गर्नु पर्नेमा महासविच वानले जोड दिएका छन् ।
विश्वका लाखौं किशोरी विभिन्न समस्याबाट जेलिएको राष्ट्रसंघले उल्लेख गरेको छ । किशोरीका मुख्य समस्यामा प्रजनन् स्वास्थ्यमा पहुँच नहुनु, शिक्षाको अभाव तथा सुरक्षाको खतरा छन् । एकीकृत प्रयासबाट मात्रै यी समस्यासँग जुध्न सकिने राष्ट्रसंघको भनाई छ ।
बृहत शान्ति, प्रगति तथा सम्मृद्धि हासिल गर्नका लागि राष्ट्रको विकास र भविश्य काँधमा लिएका युवाहरुमा किशोरी केन्द्रित लगानी गर्नुपर्छ भन्ने कुरालाई यस वर्ष जोडिएको छ ।