काठमाडौं । एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ ।
भारतको अररिया जोगबनी नगरपञ्चायत-१० का स्व.गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी साह, छोरा सन्तोषकुमार साह, नरेशकुमार साह, धीरेन्द्रकुमार साह र बुहारी (नरेशकी पत्नी) रिङ्कीदेवी साहले नेपाली नागरिकता लिएका हुन् । विराटनगर-१६, दरैयामा बस्दै आएका पार्वतीका छोरा सन्तोषलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेपछि नागरिकताको रहस्य खुलेको हो ।
उनको साथबाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र र नेपाली नागरिकता तथा मतदाता परिचयपत्र बरामद भएको इप्रका रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए । प्रहरीले नागरिकतासम्बन्धी कसुरमा अनुसन्धान गर्न सन्तोषको म्याद थप गरेको छ । निरौलाले भने, ‘परिवारका अन्य सदस्य भने अझै पक्राउ परेका छैनन् ।’ आजको अन्नपूर्णमा खबर छ ।