
काठमाडाैं । सरकारले आजदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात आजदेखि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
२० वर्ष पुराना सवारी गुडाएमा समातेर कानूनी कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिनुभयो ।फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएकामा थोरै सवारीले मात्र बुझाएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो ।
दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि यसकारले यस्तो नियम ल्याएको हो ।
यता यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनताको सेवा रोक भन्न नसकिने बताउँदै २० वर्ष पुराना सवारी नरोकिने जनाएको छ । विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । हाल देशभर पाँच हजार ५०० वटा २० वर्ष पुराना सवारी साधन गुडिरहेको तथ्यांक विभागसँग छ ।