
झापा । बिर्तामोड नगरपालिकालाई अब सँधैका लागि बन्दमुक्त क्षेत्र बनाउनुपर्नेमा उद्योगी व्यवसायीका नेता तथा सामाजिक क्षेत्रका अगुवाहरुले जोड दिएका छन् ।
निर्वाचनपश्चात मुलुकमा राजनीतिक संक्रमण अन्त्य भई स्थायित्वतर्फ अघि बढेकाले समृद्ध मुलुक निर्माणका लागि बन्द हड्ताल मुख्य बाधक भएको उनीहरुको निष्कर्ष थियो । शनिवार संवाद समूह झापाले संयोजन गरेको छलफलमा सहभागी उद्योगी व्यवसायीका नेता, सामाजिक क्षेत्रका अगुवा तथा निवर्तमान सांसद लगायतले बन्दले कसैको हित नगर्ने बताए । उनीहरुले सबै सरोकारवाला एकजुट भएर बिर्तामोडलाई बन्दमुक्त बनाउन आव्हान समेत गरेका छन् ।
बिर्तामोडलाई बन्दमुक्त गर्नका लागि संवाद समूहले निरन्तर संयोजन र सहजीकरणको भूमिका खेलिदिन छलफलमा सहभागी सबैले आग्रह समेत गरेका छन् । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।