बुधबारे । दुवै मिर्गौलामा खराबी आएपछि झापा बुधबारे–७ का किरण धिमाल थलिएका छन् । आर्थिक अवस्था दयनीय रहेका २७ वर्षीय किरणले जीवन रक्षाका लागि सहयोगको अपील गरेका छन् ।
गत वैशाखमा सामान्य पिसाब पोल्ने र आँखा पहेँलो भएपछि जण्डिसको शङ्का गर्दै उनले चारआलीमा जाँच गराए । तर, चिकित्सकले मिर्गौलामा समस्या देखिएको बताएपछि उनी धरानको घोपा पुगे । ‘घोपा पुगेपछि मात्र थाहा भयो, मेरो किड्नी बिग्रेछ’ किरणले भने, ‘त्यहीँ डायलोसिस गरायौँ ।’
वैशाखदेखि हालसम्म करिब सात लाखको हाराहारीमा खर्च भइसकेको उनकी आमा सावित्रा धिमालले बताइन् । ऐलानी जग्गामा बसेको उनको परिवार बुबा बुधारु धिमालले सिटी रिक्सा चलाएर धान्दैछन् । ‘गरिबलाई ठूलो रोग लाग्यो, रिनै मात्र चार लाख भइसक्यो’सावित्राले भनिन्, ‘हप्तामा ३ चोटि डायलोसिस गर्नुपर्छ, १५ हजारभन्दा बढी एकै हप्तामा खर्च हुन्छ ।’
उनले मिल्ने भए आफ्नै मिर्गौला छोरालाई दिने बताइन् । ‘आमा हुँ, बाँच्छ र मिल्छ भने मेरै किड्नी दिन्छु’ उनले भनिन्, ‘भर्खर २७ पुग्यो यसपाला, बाँच्ने उमेर त यसको छ नि ।’
किरणका दाजु प्रकाश ट्याक्सी चलाएर गुजारा गर्छन् । उनका भाइ मिलन पढ्दैछन् । किरणको परिवारमा श्रीमती गङ्गाकुमारी धिमाल (राई), ५ वर्षीया छोरी सक्षम र १३ महिने छोरा सङ्कल्प छन् । ६ वर्षअघि कमाउन मलेसिया पुगेका उनी भनेजस्तो कमाइ नभएपछि एकै वर्षमा फर्किएको बताउँछन् । ‘बाँच्छु जस्तो लाग्छ, उपचार राम्रोसँग गर्न पाए’, किरण भन्छन्, ‘नानीहरु साना छन्, मैले बाँच्नु छ, मलाई सबैजना भएर बचाउनुहोस् ।’
किरणको उपचारमा सहयोग गर्न ९८२४९१७४७० र ९८१५९३६२२६ सम्पर्क गर्न सकिनेछ । साथै, आर्थिक सहयोगका लागि किरणकी आमा सावित्रा धिमालको नाममा रहेको नेपाल बैङ्क लिमिटेडको खाता नम्बर ०८८०११०६२५२५६६०००००१ मा रकम जम्मा गरी सहयोग गर्न सकिनेछ ।