काठमाण्डौं । सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेड्रिङ कर्पोरेशनले ७३ करोड ९३ लाख कूल मुनाफा आर्जन गर्न सफल भएको छ ।
कर्पोरेशनले गत वर्ष भन्दा यस वर्ष ६१ करोड २४ लाख मुनाफा आर्जन गर्दै कूल मुनाफा ७३ करोड ९३ लाख पु¥याउन सफल भएको हो ।
कर्पोरेशनको ५१ औं स्थापना दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ८ अरव ५८ करोडको कारोवार गरिएको पनि जानकारी दिइएको छ । कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून मुनाफा लिएर कारोबार भईरहेको बताउनु भयो ।
कर्पोरेशनले पूँजीको अभावमा व्यापार, व्यवसायको दायरा बढाउन नसकिएको पनि स्पष्ट पारेको छ । कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले पूँजीको अभावमा भएका कारण व्यापार, व्यवसायको दायरा बढाउन नसकिएको बताउनु भयो । उहाँले सरकारको निर्देशन अनुसार अत्यावश्यक बस्तुहरुको विक्रीवितरण गर्दै लैजाने योजना पनि सुनाउनु भयो ।
कर्पोरेशनले खाद्य सुरक्षा अन्तरगतको कामलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउने तयारी पनि गरेको छ । खानेनुन नै कर्पोरेशनको मुख्य कारोबार हो । पेट्रोलियम पदार्थ विक्री गर्ने कर्पोरेशनले योजना बनाएपनि अझै लागू गर्न सकेको छैन ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने अनुमति आयल निगमबाट लिएको भन्दै चाँडै संचालनमा आउने जानकारी दिनु भयो ।