वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ ।
सन् २०१३ को तथ्याँकअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या सात थियो । सन् २०१७–१८ को बाघ गणनाको संख्या आउन बाँकी रहे पनि निकुञ्जभित्र २० वटा पाटेबाघ हुनसक्ने अनुमान निकुञ्जका अधिकारीहरुले गरेका छन् ।
लोपोन्मुख अवस्थामा रहेका पाटेबाघबारे विगत दुई वर्षदेखि लगातार क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणना र यसको आहारजन्य प्रजातिको अनुगमनबाट तिनको संख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ । सन् २०१५ मा गरिएको अनुगमनमा निकुञ्जभित्र बाघको संख्या १० वटा, सन् २०१६ मा १९ वटा तथा सन् २०१७ मा दुई वटा डमरुसहित १९ वटा बाघ भएको पुष्टि हुन आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले राससलाई बताउनुभयो ।
पाटेबाघको एउटा तस्वीर अर्काे तस्वीरसँग भिडाएर र बाघको शरीरमा रहेका धर्का हेरेर बाघको संख्या यकिन गरिने गरिन्छ । प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार बाघको वास्तविक संख्या तस्वीर विश्लेषण पछि मात्र थाहा हुने छ ।
सन् २०१५ को गैँडा गणनामा निकुञ्जभित्र तीनदेखि पाँच वटा गँैडा रहेको देखिएको थियो । सन् २०१६ मा गणना गर्दा निकुञ्जभित्र १०५ वटा गौरी गाई रहेको अनुमान गरिएको थियो ।
सन् २०१७÷१८ को बाघको पछिल्लो संख्या आउन बाँकी रहे पनि उनको पाइला, दिसापिसाब र गतिविधिलाई आधार मानेर निकुञ्जभित्र करिब २० वटा पाटेबाघ हुन सक्ने अनुमान गरिएको हो ।
बाघको गणना गर्दा निकुञ्जमा बाघको बासस्थान पहिचान गर्न १६७ ग्रिड स्थापना गरिएको थियो भने निकुञ्जभित्र ३०० जति स्वचालित क्यामेरा जडान गरिएको थियो ।