सुरुङ्गा । कनकाई उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको चुनाव आगामी साउन १४ गते हुने भएको छ । बिहीबार बसेको कनकाई उवा संघ कार्यसमिति र निर्वाचन समितिको संयुक्त बैठकले निर्वाचनको मिति तोकेको हो ।
निर्वाचन सम्पन्न गर्न भवानी मैनालीको संयोजकत्वमा विकासप्रसाद उप्रेती र दुर्गाप्रसाद प्रसाई रहेको निर्वाचन समिति गठन गरिएको छ । बिहीबार नै निर्वाचन समितिको बैठक बसी निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।
कनकाई उद्योग वाणिज्य संघ झापाको विधान–२०७१ (प्रथम संशोधन–२०७३) को परिच्छेद ५ को दफा २३ ‘ग’ मा व्यवस्था भए बमोजिम यस संघको आगामी दुई वर्षे कार्यकालका लागि २ जना महिला सदस्य अनिवार्य रहने गरी अध्यक्ष १, वाणिज्य उपाध्यक्ष १, उद्योग उपाध्यक्ष १, महासचिव १, वाणिज्य सचिव १, उद्योग सचिव १, कोषाध्यक्ष १ र सदस्य ५ समेत गरी जम्मा १४ जनाको कार्य समिति निर्वाचनका लागि परिच्छेद ८ को दफा ४३ देखि ५१ सम्म व्यवस्था भए बमोजिम निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको प्रमुख निर्वाचन आयुक्त मैनालीले जानकारी दिए ।
सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार असार ३० गते मतदाता नामावली प्रकाशन, असार ३१ गते मतदाता नामावली माथि दावीविरोध र नाम संशोधन तथा अन्तिम मतदाता नामावली प्रकाशन, साउन १ गते उम्मेद्वारको मनोनयन पत्र दर्ता तथा उम्मेद्वारको प्रथम नामावली प्रकाशन, साउन २ गते उम्मेद्वारीमाथिको दावी विरोध, साउन ३ गते दावीविरोध छानबिन पछिको निर्णय प्रकाशन, साउन ४ गते उम्मेद्वारी फिर्ताका लागि निवेदन पेश गर्ने तथा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन, साउन ५ गते उम्मेद्वारलाई नमूना मत–पत्र वितरण, साउन १३ गते प्रचार–प्रसारको अन्तिम मिति र साउन १४ गते शुक्रवार बिहानको ७ः०० बजेदेखि दिउँसोको २ः०० बजेसम्म निर्वाचन गर्ने तय भएको छ ।
निर्वाचन स्थल कनकाई नगरपालिका–३, सुरुङ्गास्थित कनकाई अतिथि सदनलाई मानिएको छ भने मतदाताले मतदानका लागि दिउँसोको २ः०० बजेभित्रमा निर्वाचन परिसरभित्र प्रवेश गरिसक्नु निर्वाचन समितिले जनाएको छ ।
यसै वीच संघको आसन्न निर्वाचनमा सहभागी हुनका लागि परिचय–पत्र अनिवार्य भएको हुँदा फर्म नवीकरण भए पनि केही मतदाताहरुको फोटो पहिचान हुन नसक्दा परिचय–पत्र बनाउनमा समस्या भएको र केही सदस्यहरुले हालसम्म पनि फोटो उपलब्ध नगराएकाले परिचय–पत्र बन्न नसकेको हुँदा साउन ३ गतेभित्र फोटो उपलब्ध गराई परिचय–पत्र लिन कनकाई उद्योग वाणिज्य संघ कार्यसमितिले
अनुरोध गरेको संघका सदस्य डी.पी. गौतमले जानकारी दिए ।