ताप्लेजुङ । ताप्लेजुङको घुन्सा खोलामा आएको बाढीले पुल बगाएपछि २२ परिवार जंगलमा फसेका छन् । लेलेपको बेसक्याम क्षेत्रको रामदाङ, नुप्चुभेल्ली, थाम्दाङ क्षेत्रका २२ परिवार जंगलमा फसेका हुन् ।
चाैरी गोठ लिएर गएका घुन्साका १५ र फलेका आठ परिवारलाई घर फर्कने उपाय नभएको घुन्साका हिमाली चुङ्दा शेर्पाले बताए । पुल बगाएपछि यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न समस्या भएको छ । शेर्पाका अनुसार घुन्सादेखि कञ्चनजङ्घा हिमालको बेसक्याम्प जाने बाटोको ‘लापुक’ भन्ने स्थानको पुल बाढीले बगाएको छ । सो पुल त्यस क्षेत्रमा आवतजावत गर्ने एक मात्र पुल हो ।
‘बिहीबार घुन्साबासी सबैले गएर हेरेका थियौँ तर कुनै उपाय नभएपछि फर्किएर आयौँ’ शेर्पाले भने । जंगलमा फसेकाहरु कुन अवस्थामा रहेको भन्ने समेत थाहा हुन नसकेकाे र उनिहरुसँग कुनै सम्पर्क गर्ने माध्यम नभएको बताउँदै शेर्पाले खद्यान्नको समस्या हुने बताए ।
शेर्पाले टेलिफोनमा बताएअनुसार गोठ अहिले रामदाङ, नुप्चुभेल्ली, थाम्दाङ क्षेत्रमा छन् । आलुखेती हुने खम्बाछेनमा खेतीका लागि परिवारका सदस्य गएका छन् ।
निरन्तरको वर्षाका कारण आएको बाढीले बिहीबार बिहान पुल बगाएपछि दिउँसो गाउँलेले गएर बनाउने प्रयास गरेपनि उनीहरुको उपाय लागेन । पुल बनाउन दुवैतर्फ जनशक्ति चाहिने भएकाले समस्या भएको बताइएको छ ।