
काठमाडौं महानगरपालिकाले स्विकृत नक्सा अनुसारमात्रै भवन निर्माण गर्न सार्वजनिक अपिल गरेको छ ।
स्विकृत नक्सा अनुसार भवन निर्माण नभएको उजुरी आउनेक्रम बढेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्विकृत नक्सा अनुसार मात्रै भवन निर्माण गर्न सचेत गराउनु भएको हो ।
महानगरपालिकाले सार्वजनिक भवन निर्माणका लागि तत्काल नक्सा पास दस्तुर नलिने निर्णय पनि गरेको छ । मेयर शाक्यले सार्वजनिक भवन निर्माणका लागि सरकारले तोकि दिएको कर भने बुझाउनु पर्ने स्पष्ट पार्नु भयो ।
शुक्रबार नेपाल रेडक्रस सोसाईटीको ब्लड ट्रान्सफ्यूजन सेन्टर भवनको काठमाडौंमा शिलान्यास गरेपछि आयोजित कार्यक्रममा बोल्दै उहाँले सार्वजनिक भवन निर्माणका लागि पनि नक्सा पास अनिवार्य रहेको स्मरण गराउनु भयो ।
थाई सरकारको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाईटीको ब्लड ट्रान्सफ्यूजन सेन्टर भवन निर्माण गर्न लागिएको हो । चालिस लाख अमेरिकी डलरमा निर्माण हुन लागेको सो सेन्टर भवनले दुई मुलुकबीचको मित्रतालाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।