काठमाडौं । २०७२ सालको महाभूकम्पमा जगन्नाथ देवलस्थित केन्द्रीय कारागारको जीर्ण भित्तो भत्किँदा १७ कैदी एकैसाथ पुरिए । करिब १५ सय क्षमताको कारागारमा (महिला बन्दीगृहसमेत) दुई हजार ६ सय २२ कैदीबन्दी थुनिएका छन् ।
दुई सय क्षमताको डिल्लीबजारस्थित सदरखोरमा पनि झन्डै सात सय बन्दी छन् । देशभरका सबैजसो जेलको हालत यस्तै छ । अधिकांश जीर्ण छन् । घाम र हावासमेत पर्याप्त मात्रामा नछिर्ने कोठामा कैदीबन्दी थुनिएका छन् । कैदीबन्दीको अत्यधिक चाप भएका जेलमा राति आलोपालो गरेर सुत्नुपर्ने अवस्था छ। चर्पी र नुहाउने कक्ष एकै ठाउँमा छ । अधिकांशमा स्वास्थ्यकर्मी र औषधिको उचित प्रबन्ध छैन ।
शिशु स्याहार, प्रसूति स्याहार, वृद्धवृद्धा, तेस्रोलिंगीका लागि छुट्टै प्रबन्ध छैन । क्षमताभन्दा बढी बन्दी रहेका कारण विस्तारा, झुल र खाटको समस्या छ । थुनापछि प्रायः कैदीको स्वास्थ्य जाँचसमेत हुने गरेको छैन । मनोरञ्जन र खेलकुदको सुविधा त कतै–कतै मात्रै छ । आजको अन्नपूर्णमा खबर छ ।