
काठमाण्डाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ ग्रेड वृद्धिको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका ३९ हजार ९ सय ९० मध्ये ३० हजार ७ सय ५५ जनाको ग्रेड वृद्धि भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । जसमध्ये ९ हजार २ सय ३५ विद्यार्थीको ग्रेड वृद्धि हुन नसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षामा सम्मिलित १२ जनाले ए प्लस, एक सय ८२ ले ए , एक हजार ८५ ले बी प्लस, ४ हजार ६ सय ९४ ले बी र १० हजार ४६ विद्यार्थीले सी प्लस ल्याएको बोर्डले जनाएको छ । यस्तै १४ हजार ७ सय ३६ ले सी, ५ हजार ५ सय ६५ ले डी प्लस , २ हजार ५ सय ४ ले डी र १ हजार १ सय ६६ विद्यार्थीले ई ग्रेड हासिल गरेका छन् ।
ग्रेड वृद्धि नभएका अर्थात डी प्लस भन्दा तलको ग्रेड आएका विद्यार्थीलाई कक्षा ११ का नियमित विद्यार्थीसँगै परीक्षा दिन पाउने ब्यवस्था गरिएको नियन्त्रक बतासले उल्लेख गर्नुभयो । ग्रेड वृद्धि गर्न नसकेका विद्यार्थीका लागि यहि फागुन २० गते सम्म फारम भर्न समय तोकिएको छ । बोर्डले गत पुस २९ गते कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक गरेको थियो ।