काठमाडौं । भोटेकोशी नदीमा पानीको बहाव घटेको छ । तर सतर्क भने हुन बाढी पूर्वानुमान शाखाले नदी आसपासका बासिन्दालाई आग्रह गरेको छ ।
शाखाका अनुसार बुधबारको बाढीका कारण अहिले नदी आसपासमा धेरै लेदो पानी बगिरहेको छ । बुधबारको भन्दा पानीको सतह घटेपनि सावधानी भने अझै अपनाउनुपर्ने शाखाले जनाएको छ ।
बुधबार नदीमा बाढी आएपछि सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको नदी किनाराका ८५ घर जोखिममा परेका छन् । अहिले त्यहँँका स्थानीयबासिन्दा सुरक्षित ठाउँमा सरेका सीमा प्रहरी कार्यालय लार्चाले जनाएको छ ।
प्रहरी निरीक्षक खुमलाल भुसालका अनुसार तातोपानी गाविसको १० किलोको लार्चाबाट लिपिङसम्म बाढीले जमिन कटान गरेकाले ती घर उच्च जोखिममा रहेको हुन् ।
यस्तै नदीले बाह्रबिसे–तातोपानी सडकखण्डमा पर्ने अरनिको राजमार्गको कोदारीमा ५० मिटर पक्की सडक कटान गरेको छ ।
तातोपानीमा रहेको मानसरोवर बोर्डिङ स्कुल र माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाको १० किलोस्थित बाँधको झण्डै आधा भाग नदीले बगाएको सीमा प्रहरी कार्यालयले जानकारी दिएको छ । बाढीले सडक कटान गरेपछि बाह्रबिसेबाट तातोपानीसम्मको यातायात भने ठप्प भएको छ ।