काठमाण्डौ । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फितर पर्व मनाइँदैछन् । खुसीपूर्वक दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो ।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन हिजो बेलुकी चन्द्रमा देखिएपछि आज इद उल फितर मनाउन लागिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।
विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । यो आशीर्वाद लिने क्रम बिहीबारदेखि तीन दिनसम्म चल्छ । पाहुनालाई सेवइ र लछा (घ्यूमा भुटेर बनाइएको सेवइ) खुवाइन्छ । इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फितरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुखशान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फितरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।