
काठमाडौं । बीउमा पूर्ण रूपमा परनिर्भर रहेको गुलाब फूलको कारोबार नेपालमा अत्यधिक हुने गरेको छ। नेपालमा वार्षिक सवा १८ करोडभन्दा बढी रुपैयाँको यो फूलको कारोबार भइरहेको छ। नेपालमा गुलाब फूलको बीउका रूपमा ससानो बिरुवा आयात हुन्छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार सबै प्रकारका गरी नेपालमा वार्षिक १० अर्ब मूल्यबराबरको फूलको बीउ आयात हुन्छ। यसमध्ये करिब ४ प्रतिशत गुलाबको बीउको हिस्सा पर्छ।
‘वार्षिक साढे १८ करोडभन्दा बढीको कारोबार गर्ने गुलाब फूलको बीउ बिरुवाको विकास र उत्पादन गर्न सरकारले चासो नदेखाउँदा बीउका बिरुवा आयातमा बर्सेनि करोडौं रुपैयाँ बिदेसिने गरेको छ’, फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले भने, ‘हाम्रो देशमा बीउ बिरुवाको विकास र उत्पादन गर्न सकिएको भए नेपालीले थप रोजगार पाउनुका साथै नेपाली रकम विदेश जानबाट रोक्न सकिन्थ्यो।’
फ्यानका अनुसार नेपालमा मुख्यगरी कट फ्लावर र कट फ्लावरको रूपमा भारतको बैंगलौंर, दिल्ली, कोलकाता, पुनाबाट र हल्यान्डबाट बीउ बिरुवा आयात गरिन्छ। आयात हुने गुलाबको बीउ शत्प्रतिशत हाइब्रिड जातका हुन्छन्। यसरी आयात हुने बीउ बिरुवाको भरमा काठमाडौंसहित भक्तपुर, ललितपुर, नुवाकोट, चितवन, सर्लाहीलगायत जिल्लामा व्यावसायिक रूपमा आधुनिक प्रणालीमा यो फूलखेती हुँदै आएको छ। हावापानी मिलेका हेटौंडा, पोखरा, नारायणगढ, काभ्रे, विराटनगर, धरान, धनगढीलगायत स्थानमा पनि फूलखेती हुन थालेको छ।
फ्यानका अनुसार सामान्य दिनमा देशभर पाँच हजारको संख्यामा विभिन्न रंगका गुलाब फूलको स्टिक (डण्डी) तथा स्टिम (डाँठ) को खपत हुन्छ। यसरी हेर्दा वर्षभरिमा करिब १८ लाख २५ हजार थान स्टिम र स्टिक देशभर खपत हुन्छ। एक थान स्टिक र स्टिम गुलाब फूललाई उपभोक्ता मूल्य सय रुपैयाँ तोकिएको छ। यसरी वर्षभरमा १८ करोड २५ लाख मूल्यबराबरको गुलाब फूलको मात्रै कारोबार हुन्छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ।