सुरुङ्गा । कनकाई उच्च माध्यमिक विद्यालय सुरुङ्गाको हाताभित्र सुस्त श्रवण क्षमता तथा बहिरा विद्यार्थीका लागि छात्रावास भवन निर्माण गरिने भएको छ ।
शिक्षा विभागका महानिर्देशक खगराज बरालले धार्मिक विधिपूर्वक वैदिक मन्त्रोच्चारणका साथ भवनको शिलान्यास गरेका छन् । मन्त्रालयको ८३ लाख रुपैयाँ लागतमा भूकम्पप्रतिरोधी उक्त भवन बन्ने भएको हो । महानिर्देशक बरालले सबै प्रकारका अपाङ्ग विद्यार्थीलाई निःशुल्क शिक्षा दिने सरकारको मूल लक्ष्य रहेकाले सोही लक्ष्य अनुरुप नीतिनिर्माण र बजेट विनियोजन गरिने जानकारी दिए । उनले शिक्षाका लागि राजनीति गर्नुपर्ने तर शिक्षामा राजनीति गर्नु नहुने बताए ।
विद्यालयको विशेष शिक्षातर्फ अध्ययनरत सुस्त श्रवण क्षमताका (बहिरा) विद्यार्थीका लागि सुविधासम्पन्न छात्रावास निर्माणपछि उनीहरुलाई सहज हुनेछ । स्थानीय शिक्षासेवी स्व. जनमेजय अधिकारीले २०१५ सालमा स्थापना गरेको सो विद्यालयमा हाल १८ सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा विशेष शिक्षातर्फ हाल ८१ जना विद्यार्थी अध्ययनरत छन् ।
शिलान्यास कार्यक्रमका अध्यक्ष समेत रहेका विद्यालयका निमित्त प्रअ निर्मलकुमार खतिवडाले विद्यालयको वर्तमान अवस्था, चुनौति र भावी कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । निम्न माध्यमिक इञ्चार्ज अम्बिका उप्रेतीले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
शिक्षा विभागका उपनिर्देशक योगेन्द्र बराल, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक जानुका गुरागाईं, नेपाली काङ्ग्रेस कनकाई नगर सभापति नेत्रप्रसाद चिमरिया, एमाले नगर अध्यक्ष कोमलप्रसाद पन्त, राप्रपा नेपाल नगर अध्यक्ष खेमराज कार्की, राप्रपा नगर अध्यक्ष चन्द्रबहादुर बस्नेत, सङ्घीय समाजवादी नेपालका नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, अङ्ग्रेजी भाषा प्रशिक्षक टीकाप्रसाद लामिछाने, सुरुङ्गा जेसीजका अध्यक्ष सरला पोखरेल लगायतको आतिथ्य रहेको कार्यक्रममा एमाले प्रदेश नम्बर १ का सदस्य हिराकुमार थापा, झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेल, कनकाई सामुदायिक वन समूहका अध्यक्ष रुद्रप्रसाद चिमरिया, बहिरा विद्यार्थी हेमराज मुखिया, विद्यालयका पूर्व विद्यार्थी एवम् एजुकेशनल पेजेजका कार्यक्रम निर्देशक राजेन्द्र उप्रेतीले मन्तव्य राखेका थिए ।
सहायक प्रअ कर्णबहादुर डाँगीले धन्यवाद मन्तव्य राखेको कार्यक्रमकाे सञ्चालन शिक्षक तीर्थराज खरेलले गरेका थिए ।