
सोल । हट्टाकट्टा जवान युवा विदेशका सडकमा हात फैलाउँदै मागिरहेको देख्दा एउटा नेपालीले कस्तो महसुस गर्ला ? एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामाले दक्षिण कोरियाको व्यस्त सडकमा शुक्रबार तीन नेपाली युवा पैसा मागिरहेको अवस्थामा भेटिन् ।
यो दृश्यले उनको मन खिन्न भयो, देशको इज्जत नै लुटिएजस्तो लाग्यो। ती युवा राजधानी सोलको नाम्भु (उत्तर दक्षिण) बस टर्मिनलमा केही पत्र देखाउँदै बटुवासँग पैसा मागिरहेका थिए। लामासँग पनि कोरियन ठानेर उनीहरूले हात फैलाए। लामाले सुरुमा केही तस्बिर खिचिन्।
जब उनले नेपालीमा कुरा गर्न थालिन्, दुई युवा तत्कालै भागे। नजिकै रहेका अर्का युवा पनि आफू नेपालमा अध्यापक रहेको र अध्ययनको सिलसिलामा कोरियामा रहेको र खर्च अभावले यसरी माग्नुपरेको बताउँदै भागिहाले। लामाका अनुसार ती युवा इन्टरनेसनल रिलिफ फ्रेन्डसिप फाउन्डेसन (आईआरएफएफ नेपाल) नामक संस्थाको पत्र देखाउँदै पैसा मागिरहेका थिए। संस्थाको लेटरप्याडमा सचिव प्रियारत्न महर्जनको हस्ताक्षर थियो।
‘जो जससँग सम्बन्धित छ’ भनी पत्रमा नेपालबाट कोरिया भ्रमणमा आएका स्वयंसेवी विद्यार्थीले गरिब बालबालिकाका लागि कोरियामा आवश्यक सहयोग लिन अनुमति लिएको उल्लेख छ। संस्थाले नेपालमा अनाथ तथा गरिब बालबालिकाका लागि स्वास्थ्य र शिक्षामा सहयोग गरिरहेको जानकारी गराएको छ। आजको कान्तिपुरमा खबर छ ।