झापा । पूर्वाञ्चल दैनिकले ‘सचेत नागरिक समूह’सँग पत्रिकाका सम्पादक एकराज गिरी र सहसम्पादक भण्डारीको नाम जोडेर प्रचारबाजी भइरहेको भन्दै आपत्ति जनाएको छ ।
सो दैनिकको व्यवस्थापनले मङ्गलवार प्रेस विज्ञप्ति प्रकाशित गरी ‘सचेत नागरिक समूह’को भूमिगत गतिविधिसँग जोडेर लागिरहेको आरोप सम्बन्धमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हो ।
‘विभिन्न सञ्चारमाध्यममा केही समयदेखि यस पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी र सहसम्पादक सुरेन्द्र भण्डारीको नाम ‘सचेत नागरिक समूह’ नामक सङ्गठनसँग जोडेर भइरहेको नियोजित तथा भ्रामक प्रचार र वक्तव्यवाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ–‘यस दैनिकका सम्पादक गिरी र सहसम्पादक भण्डारीको संलग्नता बाहिर प्रचार गरिएको ‘भूमिगत गिरोह’सँग रहेको आधारप्रमाणसहित पुष्टि गर्न हामी खुला रुपमा चुनौती दिन चाहन्छौँ ।’
यसै सन्दर्भमा प्रेस चौतारी झापाले सोमवार विज्ञप्तिमार्फत ‘सचेत नागरिक समूह झापा’को भूमिगत गतिविधिमा नाम जोडिएको आरोप लागेका पत्रकार महासङ्घका जिम्मेवार सदस्यको विषयमा छानविन गर्न माग गरेको थियो ।