प्युठान । प्युठानमा पहिरोका कारण एकै परिवारका पाँचसहित ८ जनाको ज्यान गएको छ ।
सोमबार राति आएको पहिरोका कारण जिल्ला प्रहरीका अनुसार प्युठानको रजवारामा एकै परिवारका पाँच जना र पूजा गाविसमा तीन जनाको ज्यान गएको हो ।
रजवारा–३ नेटामा पहिरोले पुर्दा ४१ वर्षका दुर्गाबहादुर मल्ल, उहाँकी श्रीमती ३७ वर्षकी सीता मल्ल तथा १० वर्षकी छोरी सुशीला, चार वर्षकी लेखा र डेढ वर्षकी सिर्जनाको ज्यान गएको हो ।
मल्ल परीवारका तीन जना भने शकुसल छन् । एक जना छिमेकीको घरमा बस्न गएकाले बाँच्न सफल भएका हुन् भने दुई जना घरको बाहिर बार्दलीमा सुतेकाले पहिरो आएको थाहा पाएर भागेर बाँच्न सफल भएका हुन् ।
यसैगरी पूजा–३, बाग्लिवाङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा हुम बहादुर सुनार, उहाँकी श्रीमती र छोरी छन् । थप विवरण आउन बाँकी छ ।
घटनास्थलमा जिल्ला प्रहरी, जिल्ला प्रशासन, रेडक्रस लगायतको टोली घटनास्थल तर्फ गएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरसहितको टोली उद्धारका लागि घटनास्थल गएको हो । बाग्लुङको सीमानासँग जोडिएको दुर्गम गाविस रजवारा सरमुकाम खलंगाबाट १७ कोष टाढा पर्छ ।