
काठमाडाैँ । डेढ साताआघि अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ‘पहुँचवाला’ लाई व्यवस्थापन गर्ने नाममा सशस्त्र प्रहरी बलले संगठनको संरचनामै दीर्घकालीन असर पार्ने गरी तयार पारेको प्रस्तावको सर्वत्र विरोध हुन थालेपछि समितिका संयोजक एआईजी प्रेमकुमार शाही एक साता लामो बिदामा छन् ।
सशस्त्र प्रहरी बल नेपालको हालको कार्यालय, थप कार्यालय र दरबन्दीको पुनःसंरचना’ नामक समितिका संयोजक शाहीले बिहीबार बिहान सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई एक साता कार्यालयमा नआउने मौखिक जानकारी गराउँदै बिदा बसेका हुन् ।
स्रोतका अनुसार बिहीबार बिहान कार्यालय प्रवेश गरेको केही मिनेटमै उनी बिदा बसेको जानकारी गराउँदै कार्यालयबाट बाहिरिएका थिए । कार्यालय प्रवेश गरेलगत्तै उनले आफू कार्यरत प्रशासन विभागका केही अधिकृतसँग छलफलसमेत गरेका थिए ।
आफ्नो संयोजकत्वमा गठित समितिले तयार पारेको प्रस्तावको चौतर्फी आलोचना हुन थालेपछि एआईजी शाही त्यसबाट बच्न बिदामा बसेका हुन् । समितिले तयार पारेको प्रस्ताव सञ्चार माध्यममा आएको विषयमा पनि एआईजी शाहीले सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठसमक्ष असन्तुष्टि जनाएका थिए । अाजकाे राजधानीमा समाचार छ ।