दमक । इलाम जिल्लाको चुलाचुली गाबिस वडा नं. ५ मा सूर्योदय प्राबिका बिद्यार्थीहरु खोलामा पानी खानका लागि जानु पर्ने बाध्यता टरेको छ । तिर्खाएपछि नजिकै रहेको चान्जु खोलामा पानी खान जाने बिद्यार्थीहरु अब आफ्नै बिद्यालयको प्राङ्गणमा नै पानी खान पाउने भएका हुन् । झापा दमकका युवा ब्यवसायी रोटरियन नबिन अग्रवालको पहलमा उहाँका बुबा इन्द्रसेन अग्रवालले आफ्नो माइला छोरा अंकीत अग्रवालको स्मृतीमा २ हजार क्षमताका पानी ट्याङ्की सहित चारवटा धारा जडान गरिदिएपछि बिद्यार्थीहरु पानी खानका लागि अन्यत्र धाउनु पर्ने र खोलामा जोखिम मोलेर जानु पर्ने बाध्यता टरेको बिद्यालयका प्रधानअध्यापक भोजराज बुढाथोकीले बताए । यस क्षेत्रमा धारा नभएका कारण र चुरेको फेदी भएकाले ट्युवेलमा समेत पानी नआउदा स्थानीयहरु खोलाको नै पानी पीउन बाध्य रहेकाछन् भने बिद्यार्थीहरु पनि यसको मारमा पर्दै आएका थिए । सानासाना बिद्यार्थीरुलाई घरबाट पानी पठाउन पनि मुस्किल भएको र बिद्यालयमा पनि पानी नहुदा तिर्खै बालबालिका पढ्न बाध्य रहेकोमा अब यो अवस्था टरेको बिद्यालयका ब्यवस्थापन समितिका पूर्व अध्यक्ष केशब गुरागाईले बताए ।

मध्यान्हको समयमा बिद्यार्थीहरु खोलामा पानी पीउन जाँदा जोखिम बढेको र धेरै बालबालिका तिर्खै बस्ने गरेको थाहा पाएपछि आफ्नो भाईको स्मृतीमा आफूले यस बिद्यालयमा पानीको ट्याङ्की सहित धाराको ब्यवस्था मिलाई दिएको रोटरियन नबिन अग्रवालले बताए । बालबालिकाले धाराबाट पानी खाँदा आफ्नो मन प्रफूल्लित रहेको बताउदै अग्रवालले यो आफ्नो सानो सहयोगले बिद्यार्थीहरुमा राहत पाउदा भाइको आत्माले चिरशान्ति पाओस् भन्ने कामना रहेको बताए ।
आइतवार धारा सहित पानी ट्याङ्की बिद्यालयलाई हस्ताण्तरण गर्दा रोटरि क्लव अफ दमकका अध्यक्ष डा. मुक्ति भट्टराई, डा. लेखनाथ न्यौपाने, निवर्तमान अध्यक्ष नबिन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।