
काठमाडौं । कारबाहीमा पर्ने डरले सिमेन्ट उद्योगले थोरै मूल्य घटाए पनि स्टिल उद्योगीहरूले आलटाल गर्दै आएका छन् । विभिन्न बहानामा व्यवसायीहरूले अस्वाभाविक रूपमा मूल्य बढाएको फेला परेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तत्काल मूल्य घटाउन निर्देशन दिएको थियो ।
उद्योगीहरूले पनि मूल्य घटाउने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धताअनुसार सिमेन्ट उद्योगले थोरै मूल्य घटाए पनि स्टिल उद्योगहरूले घटाएका छैनन् ।
विभागका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार जगदम्बा स्टिलले प्रतिकिलो ५० पैसा घटाए पनि अन्य स्टिल उद्योगले घटाएका छैनन् । ‘बयानका लागि आए पनि मूल्य घटाएका छैनन्,’ उनले भने । विभागका अनुसार अनुगमनको क्रममा स्टिल व्यवसायीले प्रतिकिलो १० रुपैयाँसम्म मूल्य बढाएको पाइएको थियो । मूल्य घटाउन अटेरी गरेपछि मूल्य बढ्नु र मूल्य नघटाउनुको कारणसहित स्पटीकरण दिन पत्रचार गर्ने निर्णय विभागले गरेको छ ।
‘मूल्य वृद्धिका कारण, कच्चा पदार्थ र डन्डीमा कति प्रतिशत वृद्धि भएको हो । बढेको प्रमाणसहित विभागमा पेस गर्न पत्र तयार गरेका छौं,’ उनले भने, ‘मंगलबार सबै स्टिल उद्योगीलाई पत्राचार गर्छौं ।’ विभागका अनुसार सिमेन्टमा भने अधिकांश व्यवसायीले मूल्य घटाएका छन् । चौतर्फी विरोध र सरकारले अनुगमन तीव्र बनाएपछि व्यवसायीले मूल्य घटाउन थालेका हुन् ।
उत्पादन लागत, क्लिंकर आयातमा समस्यालगायतको बहानामा व्यवसायीले १५ दिनमै ५ पटक मूल्य बढाएका थिए । एक महिनाको अवधिमा ५ देखि १८ प्रतिशतसम्म मूल्य बढाएको विभागले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । प्रतिबोरा १ सय २० रुपैयाँसम्म बढाएको विभागको रेकर्डमा छ । तर, उद्योगीले १० देखि ५० रुपैयाँसम्म मात्रै घटाएका छन् । आजको कान्तिपुरमा खबर छ ।