काठमाडौँ । ताप्लेजुङस्थित पाथीभरा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गरिने भएको छ ।
आगामी फागुन १ देखि ३ गतेसम्म हुने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथनको राष्ट्रपतिबाट उद्घाटन हुँदैछ । महोत्सवमा कृषि उत्पादन, औद्योगिक हस्तकला तथा शिल्पकला, खाद्य परिकार उत्सव, सांस्कृतिक कार्यक्रम, प्याराग्लाइडिङ, भलिबल प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।
पाथीभरा क्षेत्र विकास समिति र स्थानीय नयाँ रणभीम गुल्मले महोत्सवमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पाथीभरा क्षेत्र नेपालकै प्रसिद्ध धार्मिकस्थलमध्ये महत्वपूर्ण तीर्थस्थल हो । पाथीभरा देवीसँग भाकल गरेपछि मनोकामना पूरा हुने र भाकल पूरा भएपछि पुनः भक्तजन त्यहाँ जाने प्रचलन छ ।
मुलुकमा पाइने ४५ मध्ये २८ प्रजातिका लालीगुराँस र १०० भन्दा बढी प्रजातिका सुनाखरी पाथीभरा क्षेत्रमा पाइन्छ । यस्तै मुनाल, डाँफे, चिरकालिज, हरियो लामपुच्छ्रेलगायत दुर्लभ पन्छीले उक्त स्थानको सौन्दर्य बढाएको पर्यटन व्यवसायी पासाङ लामाले बताउनुभयो । यस क्षेत्रमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा मुलुकको दोस्रो अग्लो हिमाल हो । त्यस्तै कुम्भकर्ण, काङ्बाचेन, मकालु, लोत्सेलगायत हिमाल यहाँबाट देख्न सकिन्छ ।