जाजरकोट । जाजरकोट सदरमुकाम खलंगाका सुनचाँदी व्यवसायीबाट उपभोक्ता ठगिँदै आएको खुलेको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगञ्जबाट आएको टोलीले गरेको अनुगमनबाट यस्तो रहस्य खुलेको हो ।
सुनचाँदी व्यवसायीले नाप तौल गर्ने तराजु मापदण्ड विपरित रहेको पाइएको हो । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगञ्जका सहायक निरीक्षक गुरुप्रसाद पोखरेलको टोलीले सुनचाँदी पसलमा अनुगमन गर्दा सरकारी मान्यता विपरितका तराजु प्रयोग गरेको पाइएको हो ।
नापतौल विभागको छाप लागेका डिजिटल तराजु प्रयोग गर्नुपर्नेमा ९ वटा सुनचाँदी पसलले नक्कली चिनियाँ तराजु प्रयोग गरेको अनुगमनका क्रममा भेटिएको हो । टोलीले नक्कली तराजु जफत गरेको छ । व्यवसायीलाई नयाँ तराजु किनेर सात दिन भित्र क्षेत्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिएको सहायक निरीक्षक पोखरेलले बताए ।
अनुगमन गरिएका ११ वटा सुनचाँदी पसलमा दुई वटा पसलले मात्र मान्यता प्राप्त तराजुको प्रयोग गरेपनि गुणस्तर तथा नापतौल विभागबाट अनुमति नलिएर चलाएको पाइएको सहायक निरीक्षक पोखरेलले बताए ।