
दाङ । घोरही उपमहानगरपालिका-१५, दाङका २७ वर्षीय विशाल बस्नेतले श्रम राज्यमन्त्री डिल्लीराम चौधरीमार्फत डेनमार्क पठाउने भन्दै ६ जनासँग ४१ लाख रुपैयाँ लिएर फरार भएका छन् ।
सरकारी कोटामार्फत डेनमार्क पठाउने स्वीकृति पाएको कागज देखाई बस्नेतले पीडितसँग ७ लाख ५० हजार रुपैयाँसम्म उठाएर फरार भएका हुन् । ठगिएका युवक सबै बस्नेतकै छरछिमेक हुन् । ‘श्रम राज्यमन्त्री चौधरी हाम्रै जिल्लाका माननीय हुन् । बस्नेतले मन्त्रीस्तरीय निर्णयबाट २८ जनालाई डेनमार्क पठाउन लागेको भन्दै भरपर्दो सरकारी कागज देखाए ।
मन्त्री चौधरीसँग आफ्नो निकै नजिकको सम्बन्ध रहेको र मन्त्रीमार्फत डेनमार्क पठाइने जिम्मा लिए,’ पीडित डोजराज कालाथोकीले भने,‘ठगिएपछि बुझ्दा यो विषय मन्त्रीलाई नै थाहा छैन रहेछ । उनीसँग मन्त्रीको कुनै सम्बन्ध नै रहेनछ ।’
बस्नेतले घोराहीका २० वर्षीय सुमन वली, तुलसीपुरका २३ वर्षीय घनश्याम विष्ट, ३२ वर्षीय डोजराज कालाथोकी, २० वर्षीय अर्जुन बुढाथोकी, २३ वर्षीय अर्जुन बिक र २८ वर्षीय सूर्य विसीलाई ठगी गरेका हुन् । उनीहरुलाई गत पुस २६ गते डेनमार्क जाने उडान छ भन्दै काठमाडौं बोलाएका थिए ।
बस्नेतले उनीहरुको लागि डेनमार्कको भिसा समेत राहदानीमा लगाइदिएका थिए । ‘भिसा र टिकट दुवै नक्कली रहेछ,’ उनले भने । वैदेशिक रोजगार विभागले व्यक्तिगत रुपमा ठगी गरेको भन्दै पक्राउ पुर्जी र बस्नेतको परिवारको नाममा रहेको जग्गा बेचबिखनमा रोक्काको पत्र जारी गरेको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।