
काठमाडौँ । चार वर्षअघि बर्खास्त चिकित्साशास्त्र अध्ययन संस्था (आइओएम) का डिन डा. शशि शर्मालाई चार दिनका लागि पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशलाई आफूअनुकूल व्याख्या गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारी नयाँ डिन नियुक्त गर्ने खेलमा लागेका छन् ।
शर्माको पुनर्वहाली आदेशसँगै कार्यरत डिन डा. जगदीश अग्रवाललाई समेत अदालतले कानुनसम्मत भनिसकेको अवस्थामा उनलाई ‘अपमान’ र ‘असहयोग’ गर्दै त्रिवि पदाधिकारी नयाँ नियुक्तिको खेलमा लागेका हुन् । पछिल्लोपटक त्रिवि पदाधिकारीकै निर्देशनमा आइओएम कर्मचारीले त्रिवि, शिक्षण अस्पतालभित्रकै कार्यक्रममा समेत डिन अग्रवाललाई खबरै नगरी कार्यक्रम गर्दै आएका छन् । यसअघि डिन पद रिक्त भए तत्कालै निमित्त दिने गरिएकोमा यसपटक न कसैलाई निमित्त दिइएको छ न अग्रवालले नै काम गर्न पाएका छन् ।
माघ ३ को मन्त्रिपरिषद् बैठकले अदालतको आदेशमा डिनमा पुनर्वहाली भएका शर्माको अवधि सकिएपछि सो पदमा पहिलेदेखि काम गर्दै आएका अग्रवालको निरन्तरता हुने भन्दै सोहीअनुसार त्रिवि उपकुलपतिलाई निर्देशन दिने निर्णय गरेको थियो ।
शर्माको अवधि सकिएपछि नयाँ डिन नियुक्ति प्रक्रिया थाल्ने बताएका त्रिवि उपकुलपति तीर्थ खनियाँले न नयाँ नियुक्ति गरेका छन् न अग्रवाललाई नै सहज रुपमा काम गर्न दिएका छन् ।
मन्त्रिपरिषद् निर्णय आधारमा सहकुलति एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले माघ ९ गते अदालतको आदेश कार्यान्वयन गर्न निर्देशन दिएका थिए । दोस्रोपटक माघ १४ गते पनि शिक्षा मन्त्रालयले त्रिवि उपकुलपतिलाई अदालतको आदेश कार्यान्वयन गर्न भने पनि उनी मौनता साँधेरै बसेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।