
काठमाडौं । छोराको हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १३ वर्षदेखि सत्याग्रहमा होमिएकी गोरखा फुजेलकी ६१ वर्षे गंगामाया अधिकारीले सहिद दिवसको अवसर पारेर मंगलबारदेखि फेरि आमरण अनशन सुरु गरेकी छन् ।
लामो समयदेखि सरकारको निगरानीमा वीर अस्पतालमा राखिएकी उनले अस्पतालकै बेडबाट अन्नपानी छाडेको घोषणा गरिन् । ‘जबसम्म मलाई न्याय दिइँदैन तबसम्म म खान्न’ उनले भनिन्, ‘बरु मेरो प्राणै जाओस् तर माग पूरा नभएसम्म अनशन तोडदिन ।’
अघिल्ला सत्याग्रहमा उनका साथमा पति नन्दप्रसाद हमेसा हुने गर्थे। मुखमा अन्नपानी नपरेको तीन सय साठी दिनपछि वीर अस्पतालमै २०७१ असोज ६ गते उनको निधन भएको थियो । त्यस बेला गंगामायाको हालत पनि नाजुक थियो। बोल्न नसक्ने उनलाई मानव अधिकारकर्मी र चिकित्सकहरुले जबरजस्ती सुरुमा पानी, फलफूलको रस र झण्डै एक महिनापछि दूध तथा दालको झोल खुवाएर अनसन तोडाएका थिए । आजको कान्तिपुरमा खबर छ ।