
तेह्रथुम । पहाडी जिल्ला तेह्रथुममा उत्पादित अदुवा निकासी नभएर त्यतिकै थन्किएको छ । निकासी ठप्प भएपछि यहाँका व्यापारीले संकलन गरेको अदुवा गोदाममा र किसानको बारीमै थन्किएको हो । बिर्तामोडबाट भारततर्फ निकासी हुने अदुवा केही दिनयता निकासी हुन छाडेपछि जिल्लाका गाउँगाउँबाट संकलन भएको अदुवा व्यापारीहरूले अटेसम्म गोदाममा र नअटेको सडकपेटीमै थन्काएका छन् ।
चार दिनयता निकासी हुन बाँकी रहेको करोडौँ रुपैयाँको अदुवा सदरमुकामको म्याङलुङ बसपार्क नजिकै सडकमै राखिएको छ । निकासी ठप्प भएपछि जिल्लाबाट समेत अदुवा लिएर जान नपाएको व्यापारी अमृत निङ्लेकुले बताए । उनले भने, “भन्सारमा अदुवा छिराउन पाइएकै छैन, त्यसैले यहाँ हामीले संकलन गरेको अदुवा त्यतिकै थन्किएको हो ।”
आफूसँग भएका सवै गोदाम भरिएर बाँकी रहेको अदुवा सडकमै भए पनि थुपारेर राख्नुपरेको उनले बताए । व्यापारी निङ्लेकुले सिंहवाहिनी अलैंची, अदुवा तथा जडीबुटी संकलन केन्द्रबाट समेत अदुवा, अलैंचीको संकलन गरी कारोबार गर्छन् । सातायता मात्र अदुवा निकासी ठप्प हुँदा जिल्लामा करोडौंको अदुवा त्यतिकै थन्किएर बसेको उनले बताए । कारोबारमा खबर छ।