काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग विद्युत् खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ ।
प्राधिकरणमा आइतबार आयोजित एक समारोहमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायको उपस्थितिमा पिपिएमा हस्ताक्षर भएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।
पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बो सिउक यीले हस्ताक्षर गर्नुभएको हो । सो आयोजना नै अमेरिकी डलरमा पिपिए गरिएको हालसम्मकै सबैभन्दा ठूलो परियोजना हो । राजधानीबाट सबैभन्दा नजिक रहेको सो परियोजना सुक्खायाममा समेत ‘फम पावर’ प्रदान गर्नेछ ।
कूल २१६ मेगावाट क्षमताको सो आयोजनासँग अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गरिएको हो । अधिकतम् १० वर्ष वा व्यावसायिक विद्युत् उत्पादन शुरु हुने दिनदेखि ऋण चुक्ता अवधि जुन समय पहिले हुन्छ सोही अवधिसम्मका लागि मात्रै अमेरिकी डलरमा पिपिए गरिएको प्राधिकरणले जनाएको छ ।