बिर्तामोड । झापा जिल्ला ट्राभल्स एजेन्ट संघको शनिबार बिर्तामोडमा सम्पन्न चौँथो साधारणसभामा पत्रकार रमेश समदर्शी राईलाई सम्मान गरिएको छ ।
कार्यक्रममा पत्रकार समदर्शीलाई पर्यटन पत्रकारिता सम्मान प्रदान गरिएको हो । प्रतिदिन दैनिकका कार्यकारी सम्पादक समदर्शीलाई झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले सम्मानपत्र तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले नगद हस्तान्तरण गरेका थिए । पत्रकार समदर्शी विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।
सोही कार्यक्रममा पथ प्रदर्शक व्यवस्थापन समितिका अध्यक्ष कोषराज सिटौलालाई पनि नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सहायक प्रजिअ निरौलाले ठुलो हिस्सा ओगटेको पर्यटन व्यवसायको विविध कारणले सोचेजति विकास हुन नसकेको बताए । पत्रकार मोहन काजीले संघले सञ्चारकर्मी र पथ प्रदर्शकलाई सम्मान गरेर संस्थाको गरिमा उच्च बनाएको बताए । पर्यटन व्यवसायीको व्यवहारले नेपाल र नेपालीको परिचय झल्किने गरेको उनको भनाइ थियो ।
त्यस्तै, विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिकी सदस्य मीना उप्रेतीले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकलाई सही पथ प्रदर्शन गर्न सक्नुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष निरबहादुर कार्कीले पर्यटन क्षेत्रमा चुनौती धेरै भएको भन्दै सम्पूर्ण पर्यटन व्यवसायी एक भएर चुनौतीको सामना गर्नुको विकल्प नभएको बताए ।