विर्तामोड । ‘सहकारिताः दिगो भविष्य निर्माणका लागि शक्ति’ भन्ने नाराका साथ शनिबार मनाइएको ९४औं अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा देशैभर वृहत मानव साङ्लो प्रदर्शन गरिएको छ ।
यसै क्रममा झापाका सहकारीकर्मीहरुले पनि विहान ७ बजेदेखि ९ बजेसम्म महेन्द्र राजमार्गमा उभिएर मानव साङ्लो प्रदर्शन गरेका थिए ।
मेचीदेखि महाकालीसम्म शनिबार विशाल मानव साङ्लो प्रदर्शन गरिएको राष्ट्रिय सहकारी संघले जनाएको हो ।
झापामा आयोजित कार्यक्रमको संयोजन झापा जिल्ला सहकारी सङ्घले थियो । कार्यक्रममा जिल्ला भरीका सहकारीका सदस्य र पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
काँकरभिट्टा, बिर्तामोड र दमकमा महेन्द्र राजमार्गलाई केन्द्रीत मानव साङ्लो प्रदर्शन गरिएको थियो ।
झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार सहकारीमैत्री ऐन कानुन निर्माणका लागि राज्यलाई नैतिक दवाव दिने उद्देश्यले यो कार्यक्रम गरिएको हो ।
झापाको काँकडभिट्टाबाट शनिबार बिहान अगुवा सहकारीकर्मी रामचन्द्र उप्रेतीले कार्यक्रम उद्घाटन गरेका थिए भने त्यो मानव साङ्लो झापा र मोरङ्गको सीमावर्ती मावा खोलामा गएर जोडिएको थियो ।