नुवाकोट । निर्माणाधिन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत् आयोजना पहिरोका कारण सञ्चालनमा अझै आउन सकेको छैन ।
भुकम्पपछि आयोजना बन्द भएपछि चिनियाँ ठेकेदारले हेर्डवक्समा गएको पहिरो, बाटो स्तरोन्नती, लगायतको काम आफुले गर्ने नसक्ने जनाएपछि काम सञ्चालन हुन नसकेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए ।
ईन्जिनियरिङ प्रोकुरमेन्ट कन्ट्रयाक्ट (ईपिसि) मोडेलमा काम गर्दा आयोजनाको हेर्डवक्समा गएका पहिरोको विषयमा चिनियाँ ठेकेदारले उक्त काम आफ्नो क्षेत्राधिकार भन्दा बाहिर रहेकाले त्यसको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्ने जनाएको छ ।
ईपिसि मोडेलमा काम गर्दा आयोजनाको काम मात्रै काम गर्ने चिनियाँ पक्षले दावी गर्दै आएको छ । सहज वातावरण नभए सम्म आयोजनाको काम अगाडी बढ्न सक्ने अबस्था नभएको चिनियाँ ठेकेदार कम्पनी गेजुवा ग्रुप कन्स्ट्रक्सनले जनाएको छ ।
करिब ७० प्रतिशत काम सम्पन्न भईसकेको आयोजनाको बाँकी काम पुरा गर्नेका लागि चिनियाँ ठेकेदार गेजुवा ग्रुप कम्पनीले आयोजनामा आफ्नोे भएको क्षतिको माग दावी समेत गरेको छ ।
ईपिसि कन्ट्रयाक्ट (प्याकेजमा) काम सम्पन्न गर्ने गरी गेजुवालाई काम दिईएको भएपनि क्षतिपुर्ति माग राखेको आयोजना प्रमुख जोशीले बताए । ‘आयोजनाले प्याकेजमा काम गर्ने जिम्मा दिएकाले गेजुवाले क्षतिपुर्तिको माग गरेपनि दिन सक्ने अबस्था हुदैन, उनले भने, ‘ठेकेदार कम्पनीले अनेक बखेडा निकालेर कामको अबधी लम्बाउन खोजेकाले केही दिन भित्रै प्राधिकरणको सञ्चालक समितीको बैठकले आयोजना सञ्चालनका विषयमा निर्णय गर्नेछ ।’
केही सातामा ठेकेदार कम्पनीलाई आयोजनाको काम सञ्चालनका लागि निर्देशन दिईनेछ, उनले भने, आयोजना कहिले बाट शुरु हुन्छ भन्ने विषयमा भने ठेकेदार कम्पनीमा निर्भर रहन्छ ।
भुकम्पपछि पहिरोका कारण आयोजनास्थलमा भएका सामग्री विग्रिएको र काम नलाग्ने अबस्थामा रहेकाले चिनियाँ ठेकेदार कम्पनीले नयाँ सामान ल्याएर मात्रै काम गर्ने जनाएको छ ।
हेर्डवक्स र सडक स्तरोन्नतीका विषयमा सञ्चालक समितीले उक्त कामको जिम्मा नेपाल सरकारले लिने जिम्मा लिने निर्णय गरे पश्चात् ठेकेदार कम्पनीलाई काम गर्ने निर्देशन दिईने छ ।
काम शुरु भएको डेढ वर्ष भित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाले राखेको आयोजना प्रमुख जोशीले बताए । भुकम्पका कारण त्रिशुली थ्रि एको पहुँचमार्ग मध्ये सात किलोमिटर सडक भुकम्पका कारण क्षतविक्षत भएपछि एक महिना अघि मात्रै नेपाली सेनाले ट्रयाक खुलाउने कार्य गरेको थियो ।
सरकारले गत फागुन ६ गते जारी गरेको उर्जा संकटकाल निवारण कार्ययोजनामा भुकम्पबाट क्षति भएको आयोजनालाई शीघ्र अगाडी बढाउन उल्लेख गरेको भएपनि हाल सम्म काम शुरु हुन नसक्दा आयोजनाको लागत र समय समेत बढेको छ ।
तर माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत् आयोजनाको लागत भने ८९ मिलियन अमेरिकी डलरबाट थपघट हुन सक्ने अबस्थामा नभएको आयोजना प्रमुख जोशीले बताए । ‘ईपिसी कन्ट्रयाक्टमा काम दिईएकाले सोही लागतमा आयोजना निर्माण गर्नुपर्नेछ, उनले भने, ‘भुकम्प नाकाबन्दिको कारण हामीले ईन्धन उपलब्ध गराउन नसकेपनि ठेकेदार कम्पनीले प्याकेजमा काम लिएका हुनाले लागत बढ्दैन । ’
चीनको एक्जिम बैैकको १.७५ प्रतिशत सहुलियत व्याज दरमा ८९ मिलिएन अमेरिकी डलर अर्थात् जुन २०११ मा निर्माण शुरू भई ३५ महिनाभित्र आयोजना सक्नुपर्ने सम्झौता भएपनि भुकम्प र नाकाबन्दिका कारण आयोजनाको म्याद थप हुने बताईएको छ । कामको शुरुवात भएको दिन देखि १८ महिना भित्र बाँकी रहेको ३० प्रतिशत काम ठेकेदार कम्पनीले काम सक्ने आयोजना प्रमुख जोशीले बताए ।
आयोजनाको हाइड्रो मेकानिकलको काम ७० प्रतिशत पूरा भएको र इलेक्ट्रो मेकानिकल्सको काम भने केही बाँकी रहेको आयोजनाले जनाएको छ ।
नेपाली साढे १० अर्ब रूपैयाँको ऋण सहयोगमा निर्माण भईरहेको आयोजनाले डाडाँगाउँको मैलुङ नजिकबाट बाध बाँधेर चार हजार ९३ मिटरको सुरूङबाट नुवाकोटको मनकामना अर्चेले नजिक पावर हाउस निर्माण हुनेछ ।