
काठमाण्डाैं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालको कुल बस्तु निर्यात बढेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भइ ३३ अर्ब ७० करोड रुपैंया पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.१ प्रतिशतले वृद्धि भएको थियो ।
पाँच महिना समीक्षा अवधिमा भारततर्फ ५.५ प्रतिशत, चीनतर्फ ७८.४ प्रतिशत र अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशुआहार, वनस्पति घ्यु, धागो, जिङ्क सिट, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैँची, जिआइ पाइप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात १२.८ प्रतिशतले बढेर ४३१ अर्ब ४९ करोड रुपैँया पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७८.९ प्रतिशतले बढेको थियो ।