इलाम । इलामको पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ । भारतसँगको इलामस्थित मुख्य नाका पशुपतिनगरमा पर्यटकले लिनुपर्ने पर्यटक अनुमतिपत्र यहाँबाट प्रदान नगरिँदा बाह्य पर्यटकलाई समस्या भएको हो ।
सो नाका हुँदै बंगलादेशलगायत अन्य देशबाट नेपाल भित्रिने पर्यटकलाई अनुमति लिनका लागि झापाको काँकडभित्ता नै पुग्नुपर्ने बाध्यता छ । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि सो अनुमति नचाहिने भए पनि अन्य मुलुकबाट आउने पर्यटकले अनुमतिपत्र लिनुपर्ने हुन्छ ।
इलाममा अझ बढी पर्यटक भित्रिने भए पनि काँकडभित्ता पुग्नुपर्ने बाध्यताका कारण पशुपतिनगरबाट नेपालका पूर्वी क्षेत्र आउने पर्यटक इलाम आउने गरेका छैनन् । पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा नेपाली तथा भारतीय पर्यटन व्यवसायीलाई नै समस्या भएको उनीहरु बताउँछन् ।
इलाम पर्यटकीय जिल्ला हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटक गरी धेरै पर्यटक आउने गर्छन् । तर भारतको सिलिगुडी, दार्जिलिङलगायतबाट पशुपतिनगर हुँदै इलामको पूर्वी क्षेत्र भित्रिने पर्यटकले सानो कामका लागि पनि झापाको काँकडभित्ता नै जानुपर्ने बाध्यता छ ।