
विदुर । नुवाकोटमा यस वर्षको माघे संक्रान्तिमा ३४ हल गोरु जुधाइने भएको छ। तारुका र बेत्रावती र पञ्चकन्यामा हरेक वर्ष माघे संक्रान्तिमा गोरु जुधाउने गरिन्छ।
तारकेश्वर गाउँपालिका २, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ। मेला आयोजक समितिका अनुसार तारुकामा माघे संक्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता गराएका छन् ।
तारुकेश्वर-२ का वडाध्यक्ष समरबहादुर आलेमगरले गोरुजुधाइ मेला सञ्चालनको तयारी पूरा भएको बताए। उनका अनुसार गाडी पार्किङस्थल, शौचालय, गोरु जुधाइ जात्रामा सहभागी हुनेका लागि सहज रूपमा पिउने पानीको व्यवस्था र सस्तो मूल्यमा खाजा तथा खानाको उपलब्धता, जात्रा हेर्न तारुकाघाटबाट जाने सडकमा ट्यांकरमार्फत पानी छ्यापेर धुलोमुक्त सडक बनाउने व्यवस्था मिलाइएको छ।
माघ १ गते अवलोकनकर्तालाई सहज बनाउन गल्छी-देवीघाट सडकखण्ड दिनभर नै खुला गराउन गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक योजनासँग सहमति लिएको वडाअध्यक्ष आलेमगरले जानकारी दिए। मेलामा विजेता गोरु धनीलाई पाँच हजार रुपैयाँ र प्रमाणपत्र तथा उपविजेतालाई तीन हजार रुपैयाँ पुरस्कार तोकिएको छ।