काठमाण्डौं । मलेसियामा कामदारको न्युनतम् पारिश्रमिकमा वृद्धि भएको छ । २०१६ को बजेटमार्फत शुक्रबार देखि लागू हुनेगरि बढाइएको तलव अनुसार अव ९ सय २० देखि एक हजार रिंगेट तोकिएको छ ।
मलेसिया सरकारले तीन वर्ष पछि एक सय रिंगेट तलव बढाएको हो । यस अघि न्युनतम तलव ८ सय २० देखि ९ सय रिंगेट तोकिएको थियो । नयाँ नियम सँगै प्रतिघण्टा न्युनतम् ४.४२ देखि ४.८१ रिंगेट तलव पाउने छन् । यो पारिश्रमिक सबै क्षेत्रका मजदुरको हकमा लागू हुने मलेसियाको दि स्टारले जनाएको छ । होटल क्षेत्रमा पहिले नै यो नियम ल्याइएको भएपनि कार्यन्वयन भएको छैन ।
मलेसियाको रोजगार दाता महांसघले अहिलेको समयमा नयाँ पारिश्रमिक लागू गर्न समस्या पर्ने बताएको छ । महासंघका निर्देशक समासुद्धिन बर्दानले नयाँ पारिश्रमिक अनुसार तलब भुक्तानी गर्न आर्थिक समस्या पर्ने बताउनु भएको छ । उद्योगी तथा व्यवसायीको लागत र नाफालाई ध्यानमा राखेर मात्रै पारिश्रमिक बढाउनुपर्ने माग गर्नु भएको छ । नयाँ पारिश्रमिक लागु भएपछि त्यहाँ कार्यरत नेपाली सहितका विदेशी कामदार पनि लाभान्वित हुनेछन् ।