
काठमाडौं । डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार अपराह्नदेखि अनशन बसेका डा. केसीलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो । सर्वोच्चले डा. केसीलाई मंगलवार नौ बजे अदालत उपस्थित गराउन गृहमन्त्रालय मार्फत प्रहरीलाई आदेश दिएसँगै अनशनरत केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको ७२६६ नम्बरको एम्बुलेन्समा राखेर डा केसीलाई सिंहदरबार लगिएको छ ।
केसीले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सोमवार सर्वोच्चमा मानहानी मुद्दा दर्ता गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको भन्दै डा. केसीले अदालत विरुद्ध अभिव्यक्ति दिएका थिए ।
डा. केसीले केही महिनादेखि अदालतमा सिलसिलेवर रुपमा भ्रष्ट र अपराधीहरुको पक्षमा फैसला भएर न्याय बिक्री भइरहेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।