झिलझिले । जिल्ला विकास समिति झापाले चालू आर्थिक वर्ष २०७२/७३ को तेश्रो चौमासिक अन्तरगतको सार्वजानिक सुनवाई साेमबार धरमपुरमा सम्पन्न गरेको छ ।
जिविस झापाको आयोजना तथा झापा युनेस्को संघ भद्रपुरको सहजीकरणमा धरमपुर गाविसमा भएको कार्यक्रममा सहभागीहरुले जिल्ला विकास समितिलगायत विषयगत कार्यालयहरुले प्रवाह गर्ने सेवा सुविधा, विकास निर्माणका साथै स्थानीय सेवाग्राहीका समस्या, जिज्ञासा सन्तुष्टी तथा अपेक्षा राखेका थिए ।
स्थानीय विकास अधिकारी खेमराज ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय सेवाग्राहीहरुका जिज्ञासाको जवाफ जिल्लाका विषयगत कार्यलयका प्रमुखहरुले दिएका थिए ।
कार्यक्रमका सहभागीहरुले खुल्ला दिशामुक्त अभियान, सार्वजानिक शौचालयको अभाव, विद्युत विस्तार नभएको, विद्युत आपूर्ति नियमित नहुने, विद्युत मिटर समयमै उपलब्ध नभएको लगायतका विषयमा प्रश्न उठाएका थिए । त्यस्तै सेवाग्राहीहरुले विकास निर्माणमा भएको ढिलाई, कृषिमा देखिएको समस्यालगायतका जिज्ञासा राखेका थिए । यस्तै नागरिकता समस्या, नदी कटान, विद्यालय शान्ति क्षेत्र भनिए पनि कार्यान्वयन नभएको लगायतका विषयहरु पनि सहभागीको चासोमा परेका थिए । कार्यक्रममा स्थानीय विकास अधिकारी खेमराज ओझा, जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेल, जिल्ला कृषि विकास कार्यालयका प्रमुख मेघनाथ तिम्सिना, पशुसेवा कार्यालयका प्रमुख माधव दाहाल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख चोकप्रसाद धिताल, जिल्ला वन कार्यालयका प्रमुख बोधप्रसाद सुवेदी, महिला तथा बालबालिका कार्यालयकी प्रमुख इन्दिरा ओझा, भूसंरक्षण कार्यालयका प्रमुख हृदयकुमार झा, नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाह, जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख देवराज कार्की, इलाका प्रशासन कार्यालय दमकका प्रमुख बासुप्रसाद कोइरालालगायतले सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी ओझाले धरमपुरसँगै सिङ्गो जिल्लाको विकासका लागि स्थानीयबासीसँग सहकार्य गर्दै अघि बढ्ने बताए । धरमपुर गाविसका सचिव पूर्ण शम्सेर कुँवरले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा युनेस्को संघका कार्यक्रम संयोजक विजय तिम्सिनाले गरेका थिए ।