काठमाण्डौं । भुकम्प पीडितको कोटामा विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट २४ लाख ३० हजार रुपैयाँ ठगी गर्ने पुर्व जिल्ला शिक्षा अधिकारी पक्राउ परेका छन् । पीडितको उजुरीपछि सिन्धुपाल्चोकको सानोसिरुबारी ६ का पुण्यप्रसाद दंगाललाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्रेको हो ।
काठमाडौंको बुढानिलकण्ठमा बस्ने दंगाललाई थानकोटको अरविन्द्र योग आश्रमबाट पक्रेको प्रहरीले जनाएको छ । दंगालले विजय भण्डारीबाट ४ लाख २५ हजार, मोहिनी ताल्चा महतबाट ५ लाख, सगुन मानन्धरबाट २ लाख, छिरिङ तामाङबाट १ लाख, राम बहादुर तामाङबाट १ लाख, खुदनाथ घोडासैनीबाट ४ लाख ४० हजार, विकाश तामाङबाट ३ लाख र सितामाया तामाङबाट ३ लाख ४५ हजार गरि २४ लाख ३० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।
उनीहरुलाई जापान, क्यानाडा, अमेरिका लगायतका देशबाट भुकम्प पीडितका लागि विषेश कोटा आएको छ भन्दै ठगेका हुन् । अमेरिकाको लागि १६ लाख, क्यानडाको लागि १२ लाख र जापानको लागि १० लाख रुपैयाँ मागेको खुलासा भएको छ । बाँकि रकम पछि बुझाउने गरि केहि रकम दिँदापनि विदेश नपठाएपछि पीडितले ठगिएको थाहा पाएर उजुरी दिएका हुन् ।
कास्की र रुपन्देहीमा पाँच वर्ष जिल्ला शिक्षा अधिकारी भएका दंगाल द्धन्दकालमा विस्थापित भएको र पछि अवकास पाएको अनुसन्धानबाट खुलेको छ । उनले अरुलाई पनि ठगेको हुन सक्ने प्रहरीको अनुमान छ ।