बिर्तामोड । गत सोमबार अफगानिस्तानको काबुलमा भएको तालेवानी बम आक्रमणमा परी ज्यान गुमाएका १३ जना नेपालीहरुको आत्माको चिर शान्तीको कामना गर्दै कनकाई एजुकेशन फाउण्डेसन बिर्तामोडमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
विद्यार्थी एवम प्रसासनको संयुक्त आयोजनामा शुक्रबार बिहान भएको शोक सभामा मैनबत्ती बालेर मृतात्माको चिर शान्तीको कामना गरिएको थियो भने घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो ।
श्रद्धाञ्जली सभामा बोल्दै प्राध्यापक एवम विद्यार्थीहरुले स्वदेशमै रोजगारीको व्यवस्था गरी विदेशमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले सोच्ने बेला आएकोमा जोड दिएका थिए ।
शोक मन्तव्य राख्दै क्याम्पसका संस्थापक जयनारायण ढुँगानाले विद्यार्थीहरुले बिचमै पढाई छाडेर विदेशिनु दुखद भएको बताएका थिए।
क्याम्पस प्रमुख सुरेश कुमार चाँपागाईँ, प्रिन्सिपल बिष्णु दाहाल, एमबिएस कोअर्डिनेटर पवन अधिकारी, विद्यार्थी संगठनका तर्फबाट अनेरास्ववियू कन्काई क्याम्पस इकाइ कमिटी अध्यक्ष राजु धिमाल, नेपाल विद्यार्थी संघ क्षेत्र नं २ का सचिव सन्देश रिजाल र अखिल क्रान्तीकारी क्याम्पस अध्यक्ष रञ्जन धमलाले मृतकहरु प्रती श्रद्धान्जली व्यक्त गर्दै अब यस्तो घटना कहिलै नहोस भन्ने कामना गरेका थिए ।
एक मिनेट मौन धारण गर्दै सुरु भएको श्रद्धाञ्जली सभाको सञ्चालन सृजन घिमिरेले गरेका थिए ।