झापा । दमक–५ स्थित बेलडाँगी बजारमा असार ५ गते राति भएको आगलागीबाट पीडित परिवारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको राहत सामग्री भोलि शुक्रबार वितरण गरिने भएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार आगलागी पीडित हरेक परिवारलाई ४ बण्डल जस्तापाता, ब्लाङ्केट, म्याट र घर बनाउने बाँस तथा सरसफाइका आवश्यक सामान राहतस्वरुप प्रदान गरिनेछ ।
स्थानीय कपडा व्यापारी मनोज रिजालको पसलबाट शुरु भएको आगलागीका कारण १९ वटा घर जलेको थियो । राति साढे आठ बजेतिर शुरु भएको आगो साढे १० बजे नियन्त्रणमा लिँदा करिब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
विद्युत सर्ट भएर आगो लागेको प्रहरीले जानकारी दिएको छ । शरणार्थी शिविरभन्दा बाहिर पट्टी बजारमा आगो लागेको थियो । यस अघि बारम्बार शिविरभित्र आगलागीका घटना हुने गरेका थिए ।