काठमाण्डौ । सरकारले सोमबार अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीको शव ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर विमान पठाएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता रामहरी शर्माका अनुसार आज बिहान साढे ३ बजे काबुलको लागि एयरबस पठाइएको छ ।
शव लिएर आज विहान ११. ३० बजे एयरबस काठमाण्डौ आइपुग्ने अनुमान गरिएको छ । उक्त विमानमा त्यहाँबाट घर फर्कन चाहने नेपालीलाई समेत ल्याउने सरकारको निर्णय छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार गरेको संक्षिप्त प्रेस ब्रिफिङमा प्रवक्ता भरतराज पौड्यालले घाइतेको उचित उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र शवलाई नेपाल ल्याउन पहल भइरहेको बताए।
पौड्यालले सरकारले नागरिकको सुरक्षा र सुविधाका लागि कुनै कसुर बाँकी नराख्ने भन्दै यस्तो निर्णय लिएको जानकारी दिए। क्यानडाको दूतावास सुरक्षाका लागि बसमा जाँदै गर्दा सोमबार बिहान तालिवानी आतंकवादीले बम विस्फोट गराएका थिए।
उक्त घटनामा १२ नेपाली र नेपाली मूलका २ भारतीय नागरिकको मृत्यु भएको थियो।