विर्तामोड । सोमबार रातिदेखिको लगातारको मुसलधारे बर्षाका कारण झापाका दर्जनौं घर डुबानमा परेका छन् । झापाका मुख्य नदीहरु रतुवा, माइ, विरिंग, हँडिया, निन्दा तथा मेचीमा पानीको बहाव बढेका कारण झापाका धेरै भाग डुबानमा परेका हुन् । भद्रपुर नगरपालिकाका डुबानमा परेका बस्तीबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको भद्रपुर नगरपालिका कार्यालयले जानकारी दिएको छ ।
लगातारको बर्षाले मेची, हँडिया, तथा देउनिया नदी तथा झिल्मिलिया पैनीमा पानीको बहाव बढेपछि झापा भद्रपुर नगरपालिका विभिन्न भाग डुबानमा परेको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।
डुबान क्षेत्रमा परेका स्थानीयबासीलाई नजिकैका विद्यालयमा स्थानान्तरण गर्न प्रहरी तथा नगरपालिकाका कर्मचारीहरु परिचालित भएको कार्यकारी अधिकृत घिमिरेले बताए । उनले भने, ‘हामी सर्वसाधारणलाई सुरक्षित साथ रहनका लागि विद्यालयमा आउनुहोस भनेर माइकिंग गरिरहेका छौं ।’

देउनिया खोला आएको बाढीका कारण उक्त खोलाको पुल समेत बगाएको छ । उक्त पुल भत्केपछि हल्दिबारीबाट भद्रपुर नगरपालिकाको लेखनाथ चोक आउन र लेखनाथ चोकबाट हल्दिबारी जानबाट सर्वसाधारण बञ्चित भएका छन् ।

भद्रपुर नगरपालिका कार्यालयका अनुसार सुरक्षित स्थानमा आउने सर्वसाधारणका लागि सुख्खा खानेकुरा प्याकिंग गर्ने काम भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार भद्रपुर नगरपालिकाका वडा नं ५ र १० मा गरी करीब ३५ घर डुवानमा परेका छन् । ती घरका सामान निकाल्नका लागि अहिले नगरपालिकाका कर्मचारी तथा प्रहरी परिचालन गरिएको छ । त्यसैगरी गरामनी बजार पश्चिमपट्टि करीब १० घर डुबानमा परेको रेडक्रसले जानकारी दिएको छ ।

झापाको दक्षिणी गाविस राजगढको जनता चोकमा ४ घर डुबानमा परेका छन् । सुरुंगा खोलामा आएको बाढीले सुरुंगा उत्तरपट्टि रहेको बस्तीका करीब २५ घर डुबानमा परेका छन् । खुदुनाबारी ९ का कुबेर गिरीको घरमा बाढी पसेपछि घरमा भएका भाँडाकुँढा अन्नबाली सबै बगाएको रेडक्रसले जानकारी दिएको छ ।