झापा । फेसबुकमा साथी बनाएर सर्वसाधारणलाई ठगी गर्ने भारतीयसहित दुईजनालाई इलाका प्रहरी कार्यालय विर्तामोडले पक्राउ गरेको छ ।
प्रहरीले शनिअर्जुन–१ का सन्तोष भट्टराई र भारतका माल्दा पुकुरियाका सिनाहुल हकलाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न विदेशी मानिसको नाममा फेसबुक आइडी बनाएर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए ।
भट्टराई र हकले फेसबुक आइडीमार्फत् सर्वसाधारणलाई साथी बनाउने गरेका थिए । त्यसपछि कुनै विदेशी कम्पनीको नाम भन्दै चिठ्ठा परेकाले बैङ्क खातामा रकम जम्मा गर्न लगाउँदै ठगी गर्दै आएका थिए । उनीहरुले लक्की ड्र मार्फत् तपार्इंलाई ठुलो परिमाणमा रकम तथा विभिन्न उपहारहरु परेको भन्दै प्रलोभन देखाउने गरेको इप्रका विर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले बताए ।
एक महिना अघि उनीहरुले विर्तामोडकै एक व्यक्तिलाई चिठ्ठा परेको छ भन्दै ठगी गर्न खोजेपछि प्रहरीले उनीहरुको खोजी कार्य सुरु गरेको थियो । पक्राउ परेकामाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको थापाले बताए ।