नेपालगञ्ज। आफू प्रहरी भएको भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्रेको छ । प्रहरीको नक्कली पहिचान देखाउँदै सर्वसाधरण ठगी गर्ने राजु जसगढलाई प्रहरिले पक्रेको हो ।
नेपालगञ्ज-१३ का जसगढले रातिको समयमा आवतजावत गर्ने सर्वसाधारणलाई एकान्त ठाउँमा रोकेर आफू घुमुवा प्रहरी भएको बताउँदै मोवाइलमा प्रहरी बोलेको आवाज निकाली धम्क्याउने, ठग्ने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी भिमकिरण बोगटीले जानकारी दिनुभयो ।
एकान्तमा आवतजावत गरिरहेकालाई रोकेर प्रहरीको नाममा धम्क्याउँदै चेकजाँचका नाममा साथमा भएको नगद, मोवाइल लगायतका सामान लगेको प्रहरीले जनाएको छ ।
नजिकको प्रहरी बिटमा बोलाउने र महिलालाई धम्क्याई जबरजस्ती मोटरसाइकलमा घुमाउने गरेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले जसगढलाई मोवाइल र मोटरसाइकलसहित नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान थालेको छ । बाँके प्रहरीले यस्ता घटनामा पीडित भएकालाई जिल्ला प्रहरीको सम्पर्कमा आउन अनुरोध समेत गरेको छ ।